पप्पुसँगको ठेक्का तोडियोे


काठमाडौं – कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए। उनका अनुसार यस अवधिमा पप्पुले जम्मा ७ प्रतिशत काम गरेको छ।
स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । पप्पुले काम नगरेपछि दातृ निकायको सहयोग रकमसमेत अलमलमा परेको सिँचाइ मन्त्रालयका एक अधिकारीले बताए । कोषले सुरुदेखि नै पप्पुको काम सन्तोषजनक नभएको गुनासो गर्दै आएको थियो र ठेकेदारकै कारण आर्थिक सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिँदै आएको थियो । अब ठेक्का तोडिएपछि कोषले पुनः रकम उपलब्ध गराउने÷नगराउने भन्नेबारे यकिन हुन नसकेको बताइएको छ । डुँडुवा शाखा नहर निर्माण गर्न पुनः नयाँ प्रक्रिया थालनी हुने सिक्टा सिँचाइका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए।
२३ किलोमिटर लामो डुुँडुवा शाखा नहर बनाउन विभागले ९८ करोड रुपैयाँमा पप्पुसँग सम्झौता गरेको थियो । विभाग र आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई काम चाँडो गर्न पटकपटक ताकेता गर्दा समेत पप्पुले बेवास्ता गर्दै आएको थियो । पप्पुका सञ्चालक संघीय समाजवादी फोरमका सांसद (हाल निलम्बनमा परेका) हरिनारायण रौनियार हुन् । आफू सांसद बन्न सफल भएपछि उनले छोरा सुमितलाई अगाडि सारेका छन् । राजनीतिक पहुँच र प्रभावका कारण कर्मचारी तहबाट गरिएको ताकेता रौनियार बाबु–छोराले नटेरेको गुनासो थियो । आयोजनाका डिभिजनल इन्जिनियर कार्कीले समयमा काम नगर्दा आयोजनालाई परेको क्षति पप्पुको घरघरानाबाट असुलउपर गरी सञ्चालकलाई कालोसूचीमा राखिने जानकारी दिए।
लामो समयदेखि सिक्टा सिँचाइ आयोजना निर्माण गर्ने प्रयास भए पनि विभिन्न बहानामा कामले गति लिन सकेको छैन । विगतमा भारतीय अवरोधका कारण निर्माण कार्य अघि बढ्न नसकेको भनिएको सिक्टा २०६१ देखि नेपालले आफ्नै लगानीमा बनाउन थालेको हो । त्यसयता कहिले गुणस्तरहीन काम त कहिले ठेकेदारको चरम लापरबाहीका कारण निर्माण सन्तोषजनक छैन।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
4




