एसईई-असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
काठमाडौँ — गत वर्षको एसईईका लागि आन्तरिक मूल्यांकनलाई आधार बनाएको राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ । बोर्डले सोमबार सूचना प्रकाशित गरी प्राप्तांक विद्यालयले असार २० भित्र इकाइमा र इकाइले असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने जनाएको हो । कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ । बोर्डले कार्यविधि २०७७ र संशोधन गरी २०७८ जारी गर्ने तयारी गरेको छ । कार्यविधिको अनुसूचीमा समाविष्ट फारामहरूमा विधिको नम्बर भरेर पठाउनुपर्ने बोर्डले जनाएको छ ।
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो। विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ। त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ।