ओलीले भन्दैमा निष्ठा र आदर्श गुमाउदिन - पृथ्वी सुब्बा गुरुङ
पोखरा - आफ्नो पद धरापमा भएपछि प्रम ओलीले सत्ता टिकाउनको लागि दुई/दुईपटक संसद् विघटन गरेको र गुरुङलाई पनि त्यस्तै निर्देशन आएको हो ? भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा गुरुङले भने, ‘राजनीति फोहोरी खेल हो भनिन्छ तर राजनीति होइन पात्र फोहोरी हुन् ।’ नेकपा विवादित बन्दा आफ्नो सत्ता गुमेको उनको धारणा थियो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने बताएका छन् । आइतबार मुख्यमन्त्री निवासमा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले कसैको दबाबमा घुँडा टेक्न नसक्ने बताए ।
गुरुङले आफु प्रदेश सभा र प्रदेश सरकारले ५ वर्ष कार्यकाल पुरा गर्न पाउनपर्ने पक्षमा रहेको बताए । त्यसले मात्र स्थिरताको प्रत्याभूति दिने उनको भनाई छ । ‘म मुख्यमन्त्री हुन्छु कि हुन्न । सांसद रहन्छु कि रहन्न । यसो गरियो भनेमात्र संघीयताको पुष्टि हुन्छ । प्रदेश सरकारको महत्व रहन्छ,’ उनले भने । उनले नयाँ प्रदेश सरकारले संघीयताको मर्म अनुसार संघीयताको स्वायत्तता कायम रहने गरि काम गरोस् भन्ने चाहेको बताए । त्यसका लागि आफूले सघाउने उनले प्रतिबद्धता जनाए । तर यो गठबन्धन अप्राकृतिक भएकाले धेरै लामो समय नजाने उनले भविष्यवाणी गरे । ‘चारतिर फर्केकाहरु मिलेका छन् । त्यसैले यो गठबन्धन धेरै लामो समय टिक्दैन । यसको आयु लामो छैन,’ उनले भने ।
गुरुङले अब आफूले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने बताए । अहिलेसम्म सरकारकै काममा व्यस्त हुँदा पार्टीको काममा समय दिन नपाएको भन्दै उनले अब पार्टीलाई मजबुत र सुदृढ बनाउन पहल गर्ने बताए ।